अन्नपूर्ण पदयात्रामा निस्किएका ८ विदेशीसहित ११ बेपत्ता, विभिन्न स्थानबाट १३४ जनाको उद्दार

संबाददाता

काठमाडौं, ५ माघ । अन्नपूर्ण पद यात्रामा निस्किएका आठ विदेशी पर्यटक र तीन नेपालीसहित ११ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार चिनियाँ, चार कोरियन र तीन नेपाली रहेको बताइएको छ ।
दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली सम्पर्कविहिन रहेका छ भने मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन रहेको बताइएको छ । खराब मौसमका कारण उनीहरूसँग सञ्चार सम्पर्कसमेत हुन सकेको छैन ।
शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए । पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले जानकारी दिएका छन् ।
सम्पर्कविहीन भएकाहरुको खोजी गर्न शनिबार चारवटा हेलिकोप्टर प्रयोग गरिएको थियो । उनीहरू हराएको भनी शंका गरिएको स्थान धेरै ठूलो नभए पनि केही पत्ता नलागेको अन्नपूर्ण गाँउपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । उनीहरूको उद्धारका लागि पैदल गएको ६ जनाको टोली खराब मौसमका कारण दोभानदेखि माथि जान नसकेको टोलीमा रहेका विजय गुरुङले जानकारी दिए । हिंकु भन्ने स्थान खोल्सा रहेको र सोही खोल्सामा माथिबाट आएको हिमपहिरोले उनीहरूलाई पुरेको आशंका गरिएको छ ।
यस्तै, पदयात्रामा जाने र खराब मौसमका कारण विभिन्न स्थानमा अलपत्र परेका एक सय ४१ जनाको शनिबार उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लबको पहलमा उनीहरूलाई उद्धार गरिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । उनका अनुसार सातजनालाई अन्नपूर्ण आधार शिविर, १२० जनालाई माछापुच्छ«े आधार शिविर र देउरालीबाट १४ जनालाई उद्धार गरिएको हो ।

Sunday, January 19th, 2020

सम्बन्धित

सबै
तपाइको मत