नारायणकाजीको खुलासा : गुट र गिरोहले पार्टी एकीकरण पुरा भएन

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्र गुट र गिरोहको बिगबिगी हुँदा तल्लो कमिटीसम्म एकीकरण हुन नसकेको बताएका छन् ।

मदन भण्डारी एसियाली विद्यालयका विद्यार्थीहरुसँगै शुक्रबार सिन्धुली आइपुगेका श्रेष्ठले पार्टी एकतापछिको मुख्य राजनीतिक कार्यभार पुरा गर्न पनि तल्लो तहसम्म एकीकरण हुनुपर्नेमा जोड दिए । तर वर्तमान गुट र गिरोहका कारण समयमा एकीकरण नसकिएको उनले जिकिर गरे ।

‘तत्कालीन माओवादी–माओवादी, तत्कालीन एमाले–एमाले र तत्कालीन एमाले–माओवादीबीचमै हुने गरेको गुट र गिरोह अझै पनि कायमै रहेकाले पार्टी एकीकरणको कार्यभार पुरा हुन सकेको छैन’, उनले भने, ‘यसको छिट्टै अन्त्य गर्दै तल्लो कमिटीसम्म एकीकरण प्रक्रियालाई टुङ्गोमा पु¥याइने छ ।’

पार्टी एकीकरण र राजनीतिक कार्यभार पुरा गर्न पार्टी भित्र विधि र पद्धती बनाउनुपर्ने भन्दै श्रेष्ठले पार्टी भित्र गुट र गिरोहको अन्त्य गरिने समेत उद्घोष गरे । ‘पार्टी व्यक्ति–व्यक्तिले चलाउने प्रवृत्तिको अन्तय गर्दै केही दिनमै गिरोहहरुलाई निस्तेज पार्छौँ’, उनले भने, ‘यही भदौ २७ गतेभित्र पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया टुङ्गोमा पु¥याइने छ ।’

श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि आगामी २७ गते भित्र प्रदेश, जिल्ला र तल्लो तहको एकीकरण सकिने छ ।

गिरोहले पार्टी नचल्ने भन्दै विधि र पद्धतिमा चले दुनियाका कुनै शक्तिले हल्लाउन नसक्ने पनि श्रेष्ठको दाबी छ । ‘पार्टी भित्र व्यक्तिगत स्वार्थका लागि गिरोहको बिगबिगी छ’, उनले थपे, ‘यस्ता गुट र गिरोहबाट भजनमण्डली बनाउनेहरुलाई पार्टीभित्र छिट्टै निस्तेज पारिने छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा समाजिक न्यायसहितको समृद्धिको कार्यभार पुरा गर्न केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल पार्ने अधिकार कसैसँग नभएको समेत बताए ।

सामाजिक न्यायसहितको समृद्धिका लागि नेपालमा ठुला कम्युनिष्टहरुबीच एकता भएको उल्लेख गर्दै श्रेष्ठले सरकारलाई सफल बनाउन नसके पार्टी र आन्दोलनमासमेत ठुलो नोक्सान हुने जिकिर गरे ।

२३ भाद्र २०७५, शनिबार ०७:३७

सम्बन्धित

सबै
तपाइको मत