राममनोहर यादवको मृत्युबारे न्यायिक छानबिन माग

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका बर्दियाका राममनोहर यादवको मृत्यु घटनाबारे न्यायिक छानविन आयोग गठन गर्न सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले मन्त्रीलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा चरम यातना दिएर ‘हत्या’ गरिएको आशंका गर्दै न्यायिक छानविनको माग गरेका हुन्।

उपप्रधानमन्त्री यादवलाई भदौ ७ गते बर्दियामा कालोझण्डा देखाएको भन्दै प्रहरीले राममनोहरलाई पक्राउ गरेको थियो। प्रहरी हिरासतमै बेहोस भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो। प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेश सिंहले मन्त्रीलाई कालोझण्डा देखाएकै भरमा पक्राउ गरी यातना दिनु लोकतान्त्रिक चरित्र नभएको भन्दै यादवको मृत्यु घटनाको निष्पक्ष छानविन आयोग गठनको माग गरे। उनले यादवको परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे।

तमलोपाका लक्ष्मणलाल कर्णले प्रहरी हिरासतमा चरम यातना दिएका कारण राममनोहरको मृत्यु भएको दाबी गर्दै उक्त घटनाबारे गृहमन्त्रीको जवाफ माग गरे। ‘यो सरकारद्धारा गरिएको हत्या हो’, कर्णले भने, ‘यस्तो घटनामा संसद चुप लागेर बस्न मिल्दैन। संसदीय छानविन समिति गठन होस्।’ सांसद उमाशंकर अरगरियाले राममनोहरको मृत्यु घटनाको उच्चस्तरीय न्यायिक आयोग गठन गरी छानविन गर्न माग गरे।

प्रधानमन्त्रीको बोली व्यवहारमा देख्न पाइयोससत्तासीन नेकपाका नेता भीम रावलले बिम्स्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यासबारे कुनै सहमति नभएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाई व्यवहारमा देख्न पाउनुपर्ने बताए। भूराजनीति, बदलिँदो अन्तर्राष्ट्रिय अवस्थाका कारण बिम्स्टेकको नाममा संयुक्त सैन्य अभ्यास गर्न नहुनेमा जोड दिँदै रावलले भने, ‘बिम्स्टेक होस् वा सार्क, नेपालले आफ्नो संवेदनशीलता बुझेर स्वतन्त्र निर्णय गर्नुपर्छ। क्षेत्रीय संगठनका नाममा कुनै पनि सैन्य अभ्यासतर्फ हाम्रो सरकार नलागोस्।’

संयुक्त सैन्य अभ्यासबारे समाचार प्रकाशित भएदेखि नै त्यसको विपक्षमा मत राख्दै आएका रावलले बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर बोलेका थिए। संयुक्त सैन्य अभ्यासबारे भारतीय विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा सूचना प्रकाशित भएको भन्दै रावलले सरकारको ध्यानाकर्षण गराए। नेमकिपाका प्रेम सुवालले भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यासको कुरा आएको भन्दै सरकारको जवाफ माग गरे।

गुप्तचर सम्मेलनबारे सरकारको धारणा माग

सत्तासीन नेकपाका प्रमुख सचेतक देव गुरुङले २४ मुलुकका गुप्तचर निकायका प्रतिनिधिको भेला काठमाडौंमा सम्पन्न भएकोबारे अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित भएको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे। ‘यस्तो सम्मेलन हाम्रो परराष्ट्र नीति अनुकूल छ छैन ? ’, गुरुङले प्रतिनिधि सभाको शुन्य समयमा भने, ‘यसतर्फ सरकारको ध्यान जाओस्।’

प्रधानमन्त्रीको राजीनामा माग

कांग्रेसका सांसद अमरेस सिंहले स्वतन्त्रतापूर्वक देश विदेश घुम्न पाउने नागरिकको अधिकार कुण्ठित गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरे। विदेश जान लागेका नेपालीलाई सरकारले एयरपोर्टमा रोकेर संविधानको उल्लंघन गरेको तर्क गर्दै उनले भने, ‘हामीले प्रधानमन्त्री बनाएका हौं। राजा बनाएका होइनौं। संविधान उल्लंघन गर्ने सरकारले राजीनामा दिनुपर्छ।’

जहाजभन्दा ट्याक्सी महंगो

कांग्रेसका सांसद भरत शाहले अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीले जहाजभन्दा महंगो भाडा असुल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘प्लेनभन्दा पनि ट्याक्सी महंगो भाडा असुलिरहेका छन्’, उनले भने, ‘भन्सार छुटमा किन्न दिएका ट्याक्सीको मनपरी रोक्न सरकारको ध्यानाकर्षण गराउँछु।’

प्रेस स्वतन्त्रताविरोधी प्रावधान संशोधन गर्न माग

सांसदहरूले भदौ १ बाट लागू भएको मुलुकी फौजदारी संहिता र सरकारले संसदमा पेश गरेको वैयक्तिक गोपनियताको हकसम्बन्धी विधेयकले प्रेसलाई संकुचन गर्न खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। कांग्रेसका सांसद प्रकाश रसाइलीले मुलुकी फौजदारी संहिताले स्वतन्त्र प्रेसको अस्तित्व समाप्त गर्न खोजेको भन्दै संशोधन विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराए। ‘एक हातमा नेल लगाएर स्वतन्त्र प्रेसको कुरा गर्न मिल्दैन’, उनले भने। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने कानुन बनाएर सरकारले आतंकित पारिरहेको बताए।

ठेकेदार सांसदद्वारा पुलबारे सरकारको ध्यानाकर्षण

विभिन्न स्थानमा ठेक्का लिएर समयमा पुल निर्माण नगरी अलपत्र पारेका सांसद हरिप्रसाद रौनियार (पप्पु) ले वीरगञ्जको मितेरी पुल जीर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद रौनियारको कम्पनीले विभिन्न ठाउँका पुलको ठेक्का लिएर अलपत्र पारिरहेको छ। सांसद रौनियारले केही व्यक्तिको मिलेमतोमा वीरगञ्ज नाकालाई भन्दा भैरहवा नाकालाई बढी प्रयोगमा ल्याइएको पनि आरोप लगाए।

२३ भाद्र २०७५, शनिबार ०७:३५

सम्बन्धित

सबै
तपाइको मत