बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विजुली किन्ने

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट विजुली खरिद गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको बंगलादेश भ्रमणमा त्यहाको सरकारले यस्तो योजना सार्वजनिक गरेको हो।

बंगलादेशले २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विजुली किन्ने गर्ने योजना अघि सारेको हो। बंगलादेशको पावर, ऊर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट विजुली आयात गर्ने उल्लेख छ।

ढाकामा बिहीबारबाट सुरु भएको पावर एण्ड इनर्जी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्तरुप पाउने दाबी गरिन्।

‘नेपाल र भुटानबाट विजुली आयात गर्ने हाम्रो प्रयास जारी छ, नेपालसँग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौँ’, उनले भनिन्।

उनले बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारीसमेत दिएकी छन्।

नेपाल र बंगलादेश बीच गत १० अगस्टमा इनर्जी को–अपरेशनसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको थियो। नेपालका ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर भएको हो।

ऊर्जामन्त्री पुनले नेपालमा उत्पादित विजुलीको बजारमा समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन्।

ऊर्जामन्त्री पुनले आगामी १० वर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजनारहेकोे भन्दै आफूहरु बंगलादेशमा विद्युत निर्यात गर्न तयार रहेको बताए। ‘हामी १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गरिसक्छौं, त्यसबाट पाँच हजार बिजुली बंगलादेशलाई बेच्न हामीलाई समस्या हुँदैन्,’ मन्त्री पुनले भने।

बंगलादेशको तीन दिने भ्रमणका लागि ढाका पुगेका पुनले शुक्रबार आफ्ना समकक्षीसँग वार्ता गर्दैछन्। पुनले शुक्रबार नै प्रधानमन्त्री हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

२३ भाद्र २०७५, शनिबार ०७:२९

सम्बन्धित

सबै
तपाइको मत