यूएस ओपन टेनिस : साबिक विजेताको उत्कृष्ट पुनरागमन

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
साबिक विजेता राफेल नाडालले खेलमा उत्कृष्ट पुनरागमन गर्दै ग्रान्डस्लाम प्रतियोगिताको यूएस ओपनको सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो वरीयतामा आसीन स्पेनिस खेलाडी नाडालले बुधबार बिहान भएको पुरुष एकलतर्फको क्वार्टरफाइनलमा अस्ट्रियन प्रतिद्वन्द्वी डोमिनिक थिममाथि प्रतिस्पर्धात्मक जित हासिल गरे। पहिलो सेटमै नवौं वरीयताका थिमसँग ०—६ अंकले पछाडि परेका नाडालले नतिजालाई आफ्नो पक्षमा पार्न पाँच सेटसम्म प्रतिस्पर्धा गर्नु परेको थियो।

जारी यूएस ओपनमा यो सबैभन्दा लामो समयसम्म चलेको खेल हो। नाडाल र थिमबीचको खेल सकिँदा स्थानीय समयअनुसार बिहान २ बजिसकेको थियो। पहिलो सेटमा नराम्ररी पछि परेका नाडालले दोस्रो सेटको नतिजालाई ६—४ र तेस्रो सेटको नतिजालाई ७—५ ले आफ्नो पक्षमा परेका थिए। तर, चौथो सेटमा उनी पुनः थिमसँग ६—७ (४) ले पछाडि परेका थिए। तर, अन्तिम सेटमा थिममाथि ७—६ (५) को जित हात पार्दै अन्ततः ३२ वर्षीय नाडाल सेमिफाइनलमा पुग्न सफल भए।

हालसम्म १७ वटा ग्रान्डस्लाम उपाधि चुमिसकेका नाडाल र २५ वर्षीय थिमबीचको भिडन्त चार घन्टा ४९ मिनेटसम्म चेलेको थियो। ‘मैले डोमिनिक थिमलाई घर फर्काउन निकै ठूलो संघर्ष गर्नुप¥यो। वास्तवमै आज उनले लोभलाग्दो प्रदर्शन गरे’, खेलपछि निकै उत्साही देखिएका नाडालले भने। नाडालले अब सेमिफाइनलमा शुक्रबार अर्जेन्टिनाका हुवाँ मार्टिन डेल पोट्रोसँग भिडन्त गर्नेछन्।

तेस्रो वरीयतामा आसीन अर्जेन्टिनी खेलाडी डेले पोट्रो भने क्वार्टरफाइनल खेलमा ११औं वरीयता प्राप्त अमेरिकी प्रतिद्वन्द्वी जोन इस्नरलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। डेल पोट्रोले पनि इस्नरलाई हराउन ठूलै कसरत गर्नु परेको थियो। पहिलो सेटमै इस्नरसँग ६—७ (५) अंकले पराजित भएका डेल पोट्रो त्यसपछि खेलमा फर्किएका थिए। पछिल्ला तीन सेटको नतिजालाई डेल पोट्रोले क्रमशः ६—३, ७—६ (४), ६—२ ले आफ्नो पक्षमा पारेका थिए। डेल पोट्रो सन् २००९ को यूएस ओपन च्याम्पियन हुन्।

यसैगरी महिला एकलतर्फ अमेरिकी खेलाडी सरेनो विलियम्स र लात्भियाकी अनास्तासिया सेभात्सोभा सेमिफाइनलमा पुगेका छन्। १७औं वरीयताकी सेरेनाले चेक गणतन्त्रकी क्यारोलिना प्लिसकोभालाई ६—४, ६—३ को सोझो सेटमा पराजित गरिन्। प्लिसकोभा आठौं वरीयता प्राप्त खेलाडी हुन्। १९औं वरीयतामा आसीन सेभात्सोभा भने आफूभन्दा प्रभावशाली अमेरिकी खेलाडी स्लोन स्टेफन्सलाई ६—२, ६—३ ले हराउँदै सेमिफाइनलमा पुगेकी हुन्। स्टेफन तेस्रो वरीयताकी खेलाडी हुन्।

गत सेप्टेम्बरमा छोरी जन्माएपछि केही सयम कोर्ट बाहिर रहेकी ३६ वर्षीया सेरेना त्यसयता पहिलो ग्रान्डस्लाम उपाधिको खोजीमा छिन्। सेरेना लगातार नवौं पटक यूएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी हुन्। यसपटक पनि उपाधि जितेमा सेरेनाले २४ वटा ठूला प्रतियोगिताको उपाधि हात पार्ने अस्ट्रेलियन खेलाडी माग्र्रेट कोर्टको कीर्तिमानसँग बराबरी गर्नेछिन्। सेमिफाइनलमा सेरेनाले सेभात्सोभासँग प्रतिस्पर्धा गर्नेछिन्।

२३ भाद्र २०७५, शनिबार ०७:२१

सम्बन्धित

सबै
तपाइको मत