काठमाडौं बिरामी छ : डा. रवीन्द्र समीर

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
डा. रवीन्द्र समीरले ०४७ सालमा ‘पोशाक’ शीर्षकको लघुकथा लेखे । ०५३ सालमा प्रकाशित कृति ‘तेस्रो आँखा’मा राखिएको सो लघुकथा यस्तो थियो–

जोसेफले नेपाल भ्रमणका क्रममा तराई पुग्दा कुर्ता, पाइजामा, …, … लगायो । पहाड पुगेपछि कोट, कमिज, पाइन्ट, …, … लगायो । हिमाल पुगेपछि स्विटर, ज्याकेट, गलबन्दी, न्यानो पाइन्ट, …, … लगायो । त्यसपछि काठमाडौंतिर लाग्यो । थानकोटबाट भित्र पसेपछि मास्क, …, …, … लगायो ।

यो लघुकथा लेखेको २८ वर्ष भएछ । तर, काठमाडौंको अवस्था उस्तै छ । सडक बिग्रिएका छन् । धुवाँ र धुलोले सास्ती छ । मान्छे बिरामी परेकाप-यै छन् । डा. समीर जनस्वास्थ्य विशेषज्ञ भएको हैसियतले पनि उनी चिन्तित छन् ।उनी चिकित्सक मात्र नभएर लेखक पनि हुन् । लघुकथाका आठसहित ११ पुस्तक प्रकाशित भइसकेका छन् । धेरै लघुकथामा डाक्टर र बिरामीलाई नै पात्र बनाएका छन् ।

डा. समीर ३० वर्षदेखि यही सहरमा छन् । धेरै बिरामीको नाडी छामिसकेका छन् । तर, उनलाई अहिले लाग्न थालेको छ कि यहाँ मान्छे होइन, सहर नै बिरामी छ । सडक साँघुरा र खाल्डैखाल्डा छन् । नदी प्रदूषित । सवारी अस्तव्यस्त । घर अव्यवस्थित । फाहोरको दुर्गन्ध । धुवाँ र धुलोले आक्रान्त । ठूला पार्क छैनन् । प्रदूषणरहित पानी, स्वस्थ खाना कल्पनाजस्तै छ ।

डा. समीर केही साताअघि युरोप भ्रमणमा गए । २४ दिन युरोप बस्दा उनी जर्मनीदेखि भ्याटिकन सिटीसम्म १० देश घुमे । एक देशबाट अर्को देश जान रेल प्रयोग गरे । सहर घुम्न ट्राम र मेट्रो । जब उनी देश फर्किए, काठमाडौंलाई उपचार गर्ने विधि सोच्न थाले ।

नक्सा : डायलोसिसको पहिलो चरण
काठमाडौंको विकासका लागि ‘आर्किटेक्ट’ गर्नु पहिलो आवश्यकता हो । खेतीयोग्य जग्गा, वन, बस्ती, सडक तथा व्यावसायिक क्षेत्र छुट्याउनुपर्छ । डा. समीरले रेलबाट युरोपका लाखाँै बिघाको खेती देखे । आँखाले देखुन्जेल खेती मात्र । आफ्नो जग्गा हो भन्दैमा त्यहाँ जथाभावी घर बनाउन पाइँदैन । घर बनाउन अलग्गै जग्गा छुट्याइएको छ । झुपुक्क गाउँ । कम्तीमा ५०–६० घरको बस्ती । बस्तीभित्र कम्तीमा एउटा स्कुल, एउटा अस्पताल र एउटा चर्च । बसोवास एकीकृत गर्दा राज्यले सुविधा दिन सजिलो हुने उनले महसुस गरे ।

काठमाडौंमा पनि यसरी सुविधायुक्त बस्ती विकास गर्न सकिनेमा डा. समीर ढुक्क छन् । यहाँ घर बनाएर र प्लटिङ गरेर खेतीयोग्य जमिन सकिँदै गएको छ । टुक्रा जमिनमा न घर बनाइन्छ, न खेती हुन्छ । त्यस्ता खाली जमिनमा उच्च कर लगाउनुपर्ने वा तरकारी, फूल वा साना रुख रोप्नुपर्ने उनको भनाइ छ । एकै आना जग्गा पनि उत्पादनमूलक हुनुपर्ने समीर बताउँछन् ।

उत्रै घर, एकै रंगको सहर
चेक रिपब्लिकको राजधानी प्राग ‘कल्चरल सिटी’ हो । दोस्रो विश्वयुद्धमा प्रागमा हानेको बम अन्तै खसेपछि यो सहर जोगिएको थियो । अहिले डाँडाबाट हेर्दा सहर रातै देखिन्छ । प्रत्येक घर एकै रंगका र एउटै उचाइका छन् ।

त्यसो त युरोपका हरेक सहर र गल्ली उस्तै रंग र रूपका छन् । अस्ट्रियाको भियना उनलाई सबैभन्दा मनपरेको सहर । भियना जंगलबीचको चिटिक्क परेको बगँैचाजस्तै देखिन्छ । लक्जेम्बर्ग भर्खर नुहाएकी षोडसीजस्तो लाग्छ ।

इटालीको रोमलाई हल्का पहेँलो माटो रंगको सहर बनाइएको छ । रुसका सहरलाई पनि यसरी नै विकास गरिएको छ । यसले सहरको रंग देखाउँछ । रंगको सांस्कृतिक मूल्य पनि छ ।
युरोपका यस्ता सुन्दर सहर देखेपछि डा. समीर काठमाडौं पनि त्यस्तै बनाउन सकिनेमा विश्वस्त छन् । त्यसका लागि सबैभन्दा पहिला घरको कुनै पनि भाग प्लास्टर नगरी छाड्न नपाइने नियम बनाउनुपर्छ ।

घरको उचाइ निश्चित गर्नुपर्छ । अनि हाम्रा सांस्कृतिक धरोहर र स्थानीय संस्कृतिअनुसारका रंग लगाउनुपर्छ । जस्तो स्वयम्भूको पाँच किमि वरिपरि र बौद्धको पाँच किमि वरिपरि ‘बुद्धिस्ट कलर’ लगाउन सक्छौँ । त्यसबाहेक कोटेश्वर, बानेश्वरलगायत क्षेत्रमा एउटा रंग, ठमेल क्षेत्रमा अर्को रंग गरेर त्यसको विशेषता झल्काउन सक्छौँ ।अहिले स्थानीय सरकार भएकाले यसलाई सजिलै पूरा गर्न सकिने उनको विश्वास छ । वडाले नै मापदण्ड बनाएर घरमा रंग लगाउँदा निश्चित सुविधा वा सहुलियत दिन सक्ने डा. समीर बताउँछन् ।

बसको विकल्प रेल होइन ट्राम
हामी कहिलेकाहीँ ठूलो कुरा गरिरहँदा सानो कुरा भुल्छौँ । अनि न ठूलो कुरा उपलब्धि हुन्छ, न साना कुरामा प्रगति । अहिले मेट्रो र चुच्चेरेलको कुरा गरिरहँदा सडकको दूरवस्था बिर्सिरहेका छौँ । ट्राम चलाएर सार्वजनिक सवारीलाई व्यवस्थित गर्न सकिने डा. समीरको भनाइ छ । युरोपमा जस्तै लामा र दुईतले रेल चलाउनुपर्ने उनी बताउँछन् । तर, त्यसअघि महानगरका हरेक सडकमा गुणस्तरीय पिच हुनुपर्छ । सरकारले चाहे एक वर्षमै गतिलो पिच हुन सक्ने उनले बताए ।

कुनै पनि व्यवस्थित सहरभित्र बसपार्क हुँदैन । सहरबाहिर राख्नुपर्छ । जस्तो बाहिरबाट आउने गाडीका लागि नागढुंगा र भक्तपुर प्रवेश गर्ने ठाउँतिर बसपार्क बनाउनुपर्छ । यसले जाम र धुवाँधुलो कम हुन्छ ।

विद्यालयका बस अव्यवस्थित तरिकाले चलाइएका छन् । हात्तीवनका विद्यार्थी कलंकी र कलंकीका हात्तीवन पढ्न जान्छन् । युरोप अमेरिकातिर आफू बस्ने क्षेत्रबाहिरको विद्यालयमा बच्चा पढाउन पाइँदैन । यसो गर्दा स्कुलबस नै चाहिँदैन । बच्चाका लागि सुविधाजनक साना गाडी प्रयोग गर्न सकिन्छ । ती गाडी विद्यालयवरपर मात्र चल्ने हुनाले मूल सडकमा छिर्न पर्दैन ।

गाडी धोएर मात्र सहर प्रवेश
काठमाडौँका सडक बीचमा पिच गरेर छेउमा धुलै छाडिन्छ । अनि पानी पर्दा हिलो हुन्छ । त्यही हिलो पिच सडकमा आएपछि धुलाम्मे हुन्छ । त्यसकारण सबैभन्दा पहिले सडकमा कतै पनि धुलो नदेखिने गरी ओल्लो छेउबाट पल्लो छेउसम्म पिच गर्नुपर्छ ।

गाडीहरूले पनि चक्कामा हिलो ल्याइरहेका छन् । धुवाँ र धुलोरहित गाडी मात्र सहर छिर्न दिनुपर्छ । सहर छिर्ने नागढुंगाजस्ता सबै नाकामा गाडी धुने स्टेसन राख्नुपर्छ । यसो गर्दा हिलो आउँदैन । सहरभित्र पनि निर्माण क्षेत्रमा पुग्ने गाडी धोएर मात्र सडकमा आउने नियम बनाउनुपर्छ ।

नियमित मर्मतसम्भार नगरेका गाडीले प्रदूषण बढाइरहेका छन् । त्यसको नियन्त्रणका लागि अहिले प्रहरीले मापसे जाँच गरेजस्तै गरी धुवाँ जाँच गर्नुपर्ने डा. समीरको भनाइ छ । प्रदूषण बढाएको पाए दुबईमा जस्तै गाडीलाई जेल हाल्ने वा धेरै जरिवाना तिराएर मर्मत गरेपछि छाड्ने व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।

बागमतीमै चल्न सक्छ जहाज
डा. समीरले जर्मनीको राइन नदीमा बाँध बाँधेर जहाज चलाएको देखे । युरोप घुम्दै जाँदा यसरी सहरबीचका नदीमा बाँध बाँधेको जताततै देखियो । कतिपय ठाउँमा बिजुलीसमेत निकालेका थिए । त्यहाँ नदीमा फोहोर हाल्न र ढल मिसाउन पाइँदैन । नदीलाई सहरको सभ्यता मानिन्छ ।
हल्याड त समुद्र सतहभन्दा तल छ । समुद्र पस्न नदिन डचहरूले बाँध बाँधेका छन् । पानी ओहोरदोहोरका लागि नहर बनाएका छन् । डा. समीरलाई लाग्छ हल्यान्ड नहरहरूको
सहर हो ।

साना नै भए पनि काठमाडौंमा बागमती, विष्णुमती, मनोहरालगायत खोला छन् । ती खोलामा ठाउँठाउँमा बाँध बाध्ने हो भने वर्षाको पानी र डिप बोरिङले ठुल्ठूला नीला ताल वा नदी बनाउन सकिन्छ । यसो गरे काठमाडौंमै साना–साना जहाज चलाउन सकिनेमा डा. समीर विश्वस्त छन् । बाँध बाँधेपछि नदीकिनारमा रुख लगाएर जंगल बनाउनुपर्छ । जंगलभन्दा बाहिर चार लेन सडक बनाउन सकिन्छ ।

जति घर उति नै रुख
सहरभित्र जति जनसंख्या उति नै रुख आवश्यक छ । चक्रपथ फराकिलो बन्दै छ । अब सडक वारिपारि रुख रोपेर जंगल बनाउनुपर्छ । भियना अग्लो स्थानबाट हेर्दा बगैँचाजस्तो लाग्छ । काठमाडौंलाई भियनाजस्तो बनाउन सम्भव देख्छन्, डा. समीर ।

काठमाडौंका भित्री सडकमा पनि साना–साना रुख रोप्न सकिन्छ । कौसी, छत तथा करेसाबारीमा तरकारी खेती गर्न सकिन्छ । घरभित्र तुलसी, घिउकुमारी, मनीप्लान्टजस्ता साना बोट उमारेर र प्रत्येक घरमा न्यूनतम एउटा रुख रोपेर हरियाली बनाउन सक्छाैँ । सहर हरियाली हुँदा प्रदूषणसमेत नियन्त्रण हुने डा. समीर बताउँछन् ।

कचौराजस्तो काठमाडौं उपत्याकामा रहेका इँटाभट्टा प्रदूषणका कारक हुन्, यिनलाई हटाउनुपर्छ । काठमाडौंमा नागढुंगा, भीमढुंगा र ककनीबाट हावा प्रवेश गर्छ । यी क्षेत्रमा इँट्टाभट्टा, क्रसरजस्ता प्रदूषण उत्पन्न हुने कारखाना निषेध गर्नुपर्छ । काठमाडौं प्रवेश गर्ने यस्ता घाँटीहरूमा घना जंगल बनाउनुपर्छ । हावा प्रवेश गराउन ठाउँ–ठाउँमा सुरुङ बनाउन सकिन्छ ।

न्युरोड : गफिने ठाउँ
युरोपका सहरमा जथाभावी पार्किङ गर्न पाइँदैन । एक डेढ घन्टा हिँड्नुपर्ने दूरीमा पार्किङ हुन्छ ।
युरोपमा सडकभन्दा फुटपाथ ठूला छन् । फुटपाथमा ढुंगा छापिएको छ । ट्रायलका लागि न्युरोडलाई त्यसरी विकास गर्न सकिने डा. समीरको भनाइ छ ।

उनी भन्छन्, ‘पहिला त टुँडिखेलमा दुईदेखि तीनतले अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्छ, न्युरोड क्षेत्रमा साइकल, रिक्सा र बग्गीबाहेक अरू सवारीलाई प्रवेशमा रोक लगाउनुपर्छ । न्युरोडका घरलाई सहरबाहिर कतै युरोपियन शैलीको एकीकृत बस्ती बनाएर सार्नुपर्छ ।’

त्यसपछि न्युरोडको सडक विस्तार गर्न सकिने उनले बताए । सडकमा ढुंगा छाप्ने । फराकिला फुटपाथ बनाउने । दुई लाइन मध्यम आकारका रुख रोप्ने । आरामदायी बेन्चहरू राख्ने । स्ट्रिड फुड राख्ने । पसलहरू व्यवस्थित गर्ने । यसरी न्युरोडलाई टुरिस्ट हब बनाउन सकिन्छ ।

वसन्तपुर र हनुमानढोकालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ । इन्द्रचोक, भेडासिंहलगायत भित्री गल्लीबाट एक लाइन घर झिक्यो भने त्यता पनि सडक फराकिलो बन्छ । त्यहाँका स्थानीयलाई पनि कतै स्मार्ट सिटी बनाएर सार्न सकिन्छ ।

आफूले यस्तो ठाउँ जर्मनीमा देखेको डा. समीरले सुनाए । त्यहाँ रुखका फेदमा बेन्च राखिएको छ । फूल फुलेका, पातहरू झरिरहेका मनमोहक ठाउँका बेन्चमा मान्छे गफिइरहेका हुन्छन् । न्युरोड त्यस्तै हुन सक्ने उनको कल्पना छ ।

सहरको एउटा विशेषता पार्क पनि हो । काठमाडौंमा भएका पार्क लगभग मृत छन् । हरेक पार्कलाई नयाँ आर्किटेक्ट गरी हाम्रो इतिहास र सभ्यता झल्काउन सकिन्छ । उपत्यकाका चौर, गुठीका जग्गा, सरकारी जग्गा, नेपाल ट्रस्टअन्तर्गत रहेका पूर्वराजाका जग्गा आदिको पहिचान गरेर सानादेखि ठूला पार्क, संग्रहालय तथा ‘लभ स्पोट’को रूपमा विकास गर्न सकिन्छ ।

स्वस्थ सहर, स्वस्थ जीवन
काठमाडौंवासीलाई ब्लडप्रेसर, सुगरजस्ता रोग सामान्य भइसकेको डा. समीर बताउँछन् । यसमा हाम्रो ‘लाइफ स्टाइल’ पनि दोषी छ । काठमाडौंमा ‘नाइट लाइफ’ छैन । यहाँ मान्छे सुतेपछि सहर पनि सुत्छ । महानगरको बजार २४ घन्टै खुल्नुपर्छ । साँझ खान खाएर एक–दुई घन्टा पार्क वा बजार घुम्न पाए आधा रोग रोकथाम हुने उनी बताउँछन् ।

युरोपको पानीको सुविधाबाट पनि उनी प्रभावित छन् । प्रायः प्रत्येक पाँच सय मिटर दूरीमा धारा छन् । धाराको पानी सीधै पिउन मिल्छ । काठमाडौं त ढुंगेधाराहरूको सहर हो । पुराना ढुंगेधारा सांस्कृतिक सम्पदा पनि हुन् । कतिपय मासिइसके । अहिले तिनको खोजी गरेर डिप बोरिङबाट पानी बगाउन सकिने डा. समीर बताउँछन् । यसले सहरलाई जीवन दिन्छ ।

डा. समीर भन्छन्, ‘मान्छेलाई यी कुरा सुन्दा स्वप्निल लाग्ला, तर यो कम पैसामा सहरलाई जीवन दिने तरिका हो ।’ उनलाई आफ्नो लघुकथा ‘पोशाक’ अब सान्दर्भिक नहोस् भन्ने लागेको छ । बरु नयाँ परिवेशका लघुकथा लेख्न उनी तयार छन् ।

२३ भाद्र २०७५, शनिबार ०७:०४

सम्बन्धित

सबै
तपाइको मत