मिथक र लोक बान्कीका कविता

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
दोस्रो कविताकृतिका रूपमा लामो कविता चक्रव्यूह नगरमा अभिमन्यु प्रकाशित भइसकेपछि मभित्र मिथकप्रतिको आकर्षण झन् बढेर गयो । मिथकको आयतन यतिबिघ्न ठूलो हुन्छ जहाँभित्र भूत, वर्तमान र भविष्य सबै अटाउन सक्छन् । यो लामो कवितामा महाभारतको अभिमन्यु पात्रलाई लिएर काठमाडौं महानगरको चक्रव्यूहमा फसेको आधुनिक अभिमन्युको परिकल्पना गरिएको छ ।

चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा भनिएको छ, ‘मिथकहरू गतिमान प्रतीक हुन् । यिनीहरूको सिर्जनशील पुनरावृत्ति हुन्छ ।’ म आफू अंग्रेजी साहित्यको विद्यार्थी भएको नाताले कविता र अन्य विधाका रचना पढ्दा र पढाउँदा पाश्चात्य जगत्का मिथकबारे केही जान्ने मौका पाएँ । नेपाली संस्कृति त मिथकको हिसाबले सोच्न पनि भ्याउन नसकिने गरी सम्पन्न छ । त्यसबाट पनि मैले केही ग्रहण गरेँ । यो पृष्ठभूमिले मलाई पृथ्वी सवाईमा सघायो ।

मिथकसँग लोक बान्कीको संयोजनले छुट्टै किसिमको संरचना बन्दछ । हुन त कतिपयले कवि आफैँ ‘मिथमेकर’ हुन्छ भनेका छन् । यो भनाइ गलत पनि होइन । जम्मा ३२ वटा कविताको संकलन रहेको पृथ्वी सवाईमा मैले चार किसिमका मिथकको प्रयोग गरेको छु । पहिलो, हिन्दू संस्कृतिसँग सम्बन्धित मिथक । दोस्रो, किराती मिथक । तेस्रो, पाश्चात्य संस्कृतिका मिथक र चौथो, नेपालका विभिन्न संस्कृतिको संयोजनबाट बनेको लोक मिथक ।

मिथकहरूको सिर्जनशील पुनर्लेखन गर्न सकियो भने कविता र अन्य साहित्य विधाका लागि ठूलो उपलब्धि हुन सक्छ । हुन त आजको हाम्रो सञ्चार जगत्ले जोड्नेभन्दा तोड्ने साहित्यलाई प्रवद्र्धन गरिरहेको छ । तर, छालहरू क्षणिक हुन्, स्थायित्व त बहावसँगै हुन्छ ।

मैले ‘लेथ नदीको एक कमण्डलु पानी’ कवितामा लेथ नदीको पानी पिएपछि सम्पूर्ण पूर्वस्मृतिहरू बिर्सिइन्छन् भन्ने पाश्चात्य मिथकलाई समातेँ र त्यसलाई नेपाली सन्दर्भमा प्रयोग गर्न अर्कै मिथकको आफैँले रचना गरेँ ।

जमदग्नि ऋषिको रिसाहा स्वभावलाई समातेर मैले यो कवितामा इतिहास बिर्सने नेपाली राष्ट्रिय स्वभावमाथि ठूलो व्यंग गरेको छु । पाठकहरूले धैर्यपूर्वक पढ्ने हो भने यो कवितामा अर्थको धेरै विस्तृत आयाम छ । त्यसैगरी ‘लोमश ऋषिका रौँ’ कवितामा हिन्दू धर्मशास्त्रबाट मिथक लिएर त्यसको प्रयोग आजको सन्दर्भमा गरिएको छ ।

शरीरभरि लेकाली भालुजस्तो रौँ नै रौँ भरिएका लोमश ऋषिले महादेवबाट अनौठो वरदान पाए । उनको शरीरका सबै रौँ नझरुन्जेल लोमश ऋषि नमर्ने भए मात्र होइन, एउटा रौँ झर्न एक शताब्दी लाग्ने भयो । यो कविताले युवापुस्तालाई स्थान र स्वीकृति नदिने तथा गुटबन्दी गरेर समाजको गतिशीलतालाई रोक्ने लोभीपापी बुढाहरू तथा तिनीहरूकै भक्तिभाव गरेर आफ्नो दुनो सोझ्याउने युवापुस्ताका ‘लेग्यासी हन्टर’लाई आक्रमण गर्न चाहेको हो ।

‘एकादेशकी जलकिन्नरी’ कवितामा क्रान्तिकारी समाज सुधारक योगमायाबारे केही ऐतिहासिक र केही मिथकको संयोजन गरिएको छ । ‘धाविका एटलान्टा’ कविताले सुनलगायत अन्य बहुमूल्य धातुका गरगहनामा लोभिएर लैंगिक प्रतिस्पर्धा बिर्सन पुगेका एकखाले विलासी महिलाहरूप्रति लक्ष्य गरेको छ ।

हिप्पोमिन्स र एटलान्टाको मिथक पाश्चात्य संस्कृतिबाट लिइएको हो । यसैगरी ‘बडहर फल्ने गाउँ’ कवितामा भूतप्रेतको लोक मिथकलाई रणनीतिक रूपमा प्रयोग गरेर नेपालभित्र भइरहेको आन्तरिक बसाइँसराइको बीभत्स दृश्यलाई मैले पक्रन खोजेको हुँ । भूकम्पसम्बन्धी कवितामा पृथ्वीको चार सुरमा उभिएका हात्तीले काँध फेर्दा भुइँचालो जान्छ भन्ने आधारहीन लोक मिथकलाई प्रयोग गरिएको छ ।

संग्रहको शीर्षक कविता ‘पृथ्वी सवाई’मा दिक्दार पृथ्वीले बिउबिजन लुकाइदिएर अत्याचारी बेन राजालाई पतन गराएको हिन्दू मिथकलाई मैले पर्यावरणसँग जोडेर प्रयोग गरेको छु । ‘यसो भन्छिन् किरातिनी आमा’ कवितामा थिविया चराको किराती मिथकमार्फत वैदेशिक लडाइँमा पति र पुत्र दुवै गुमाएकी तथा भाषाको एकाधिकारी बजारमा आफ्नो भाषा बोल्न सक्ने आफूबाहेक आफ्नो परिवेशमा अरू कोही नभएकी एक गरिब, बेसहारा, वृद्ध किरातिनी महिलाको दुर्दान्त चित्र खिचिएको छ ।

‘देवराज इन्द्रलाई चिठी’ कवितामा पनि डाक्टर फस्ट्सको पाश्चात्य मिथक र देवराज इन्द्रको पूर्वीय मिथक जोडेर राष्ट्रियता प्रवद्र्धनको विषय उठाइएको छ । ‘गोमा ब्राह्मणीको मनोवाद’ कवितामा स्वस्थानी कथाकी गोमालाई आजकी दुःखी गोमाको नयाँ संस्करणका रूपमा लिइएको छ ।

आदरणीय पाठक ! यी केही उदाहरण हुन् । अन्त्यमा, भन्नै मन लागेको कुरो— नेपाली साहित्यबाट उच्च गाम्भीर्य मर्दै गएर साहित्य बजारिया वस्तु हुने खतरा बढ्दै गएको छ । सबैले सचेत हुने वेला हो यो । सम्भवतः आगामी कृतिमा पनि म मिथकहरूकै पुनव्र्याख्यासहित आउनेछु ।

२३ भाद्र २०७५, शनिबार ०७:०१

सम्बन्धित

सबै
तपाइको मत