अवकाशपछि व्यवसाय

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
प्युठान नगरपालिकाको दाखाक्वाडीका मुक्ति पोख्रेल तीन वर्ष अघिसम्म शिक्षक थिए । भूवनेश्वरी माध्यामिक विद्यालय खैरा र अरनिको निमावि दाखाक्वाडीमा उनले २७ वर्ष पढाए । तीन वर्षअघि उनले जागिरे जीवनबाट अवकाश लिए । खैरामा २० वर्ष र दाखाक्वाडीमा सात वर्ष शिक्षक भए । अरनिको माविमा पूरै समय उनले प्राधानाध्यापकको जिम्मेवारी सम्हाले ।

शिक्षक छँदा पनि उनले विद्यालयको समग्र विकासमा अमूल्य योगदान पु¥याएका थिए । उमेर पुगेपछि स्वतः अवकाश पाएका पोख्रेललाई घरमा खाली बस्न मनले मानेन् । सुरुमा साझेदारी रूपमा सञ्चालन गरिएको कुखरापालन व्यवसायमा उनले लगानी मिसाए । धेरै लगानीकर्ता भएकाले सोचेअनुसार सफलता हात परेन् । जागिरबाट अवकाश पाएपछि उनले यसै व्यवसायलाई एकल स्वामित्वमा सञ्चालन गर्ने योजना बनाए । सेयरधनीको रकम फिर्ता गरेर आफ्नो नाममा मात्र फार्म सञ्चालन गरे । प्रगतीशील पोल्टी तथा कृषि फार्मका एकल सञ्चालक पोख्रेललाई हाल सोचेभन्दा राम्रो प्रतिफल मिलेको छ ।

जिल्लाकै नमुना किसानका रूपमा उनले आफूलाई उभ्याएका छन् । गाउँगाउँबाट र बाहिरी जिल्लाबाट उनको कर्मको सिको गर्न व्यवसायी आउने गरेका छन् । काम गर्न भ्याइनभ्याइ छ । साझेदारीभन्दा एकल लगानीबाट राम्रो प्रतिफल लिन सकिने उनले अनुभव बटुलेका छन् । ‘धेरै हुँदा हेरचाह कसैले गर्दैनन्’ ,उनी भन्छन्, ‘धेरैको लगानीमा मायाँ पनि कम हुने देखियो ।’ फार्म कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेमा उनी चिन्तित छन् । बिहानदेखि साँझसम्म फार्ममै बित्छ ।

चार हजार लेयर्स कुखुराबाट व्यवसाय थालेका उनकोे फार्ममा हाल १० हजार कुखुरा छन् । कुखुराका लागि अत्याधुनिक खोर निर्माण गरिएको छ । करिब १२ हजार कुखरा अट्नसक्ने क्षमता छ । ‘बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म कुखुराको स्यहार गर्दैमा बित्छ’,पोख्रेल भन्छन्,‘ अवकाशपछिको जीवन यस्तै गरी चलिरहेको छ ।’ सबै अण्डा उत्पादन गर्ने (लेर्यस) कुखुरा छन् । दैनिक पाँच हजारवटा अण्डा उत्पादन हुने गरेको पोख्रेलले बताए । एकल स्वामित्वमा सञ्चालन भएकोमध्ये उनको नै जिल्लाको एक मात्र ठूलो फार्म हो । ‘वार्षिक झण्डै ७० लाख कारोबार हुन्छ’,उनले भने,‘सबै खर्च कटाएर वार्षिक करिब ३५ लाख रुपैयाँ बचत छ ।’

सबै अण्डा जिल्लामै खपत हुने गरेको छ । कतिपय ग्राहक सस्तोमा खरिद गर्न सकिने भएपछि फार्ममै अण्डा लिन पुग्छन् । फार्मसम्म पुग्न सहज सडकको सुविधा छ । ‘कुखुराले १८ देखि २२ महिनासम्म नियमित अण्डा उत्पादन गर्छन् । ‘त्यसपछि मासुका लागि बिक्री गर्छु’,पोख्रेलले भने, ‘फार्ममै आएर ग्राहकले कुखुरा लैजान्छन् ।’

उनका अनुसार स्याङजा, कास्की, लमजुङ, तनहुँ, गोरखा र चितवनबाट व्यवसायी कुखुरा खरिद गर्न आउने गरेका छन् । फाट्टफुट्ट जिल्लामा पनि मासुका लागि कुखुरा बिक्री हुने गरेको छ । उनले ग्राहकको मन जितेका छन् । ‘जिल्लाभर धेरै ग्राहकले प्रगतीशीलको अण्डा चाहियो भनेको सुन्दा खुसी लाग्छ’,अनुभव सुनाउँदै उनले भने,‘ग्राहकको मायाँले व्यवसायमा थप ऊर्जा मिलेको छ ।’ २०६९ सालमा नौ जना साथीहरू मिलेर फर्म स्थापना गरेका थिए । तर, अपेक्षाकृत सफलता साझेदारीबाट लिन नसकेपछि २०७२ सालमा शिक्षकबाट अवकाश पाएर उनको व्यवसायले फड्को मारेको हो । उनले फार्मलाई अझ व्यवस्थित र फराकिलो रूपमा सञ्चालन गर्ने योजना बनाएका छन् । फार्ममा तत्कालै १२ हजार कुखुरा अट्न सक्ने खोर बनेको छ । उनले कुखुरा अझै थप्ने सोच समेत बनाएका छन् । कुखुराका चल्ला उनले चितवनबाट खरिद गर्छन् ।

चार हजार लेयर्स कुखुराबाट व्यवसाय थालेका उनकोे फार्ममा हाल १० हजार कुखुरा छन् ।
सबै अण्डा जिल्लामै खपत हुने गरेको छ । कतिपय ग्राहक सस्तोमा खरिद गर्न सकिने भएपछि फार्ममै अण्डा लिन पुग्छन् ।
वार्षिक झण्डै ७० लाख कारोबार हुन्छ । सबै खर्च कटाएर वार्षिक करिब ३५ लाख रुपैयाँ बचत हुन्छ ।
उत्पादनशील क्षेत्रमा नलाग्दासम्म राज्यले लिएको समृद्धिको सपना पूरा हुन सक्दैन ।
उनका सबै छोराछोरी आ–आफ्नो पेसाव्यवसाय र पढाइमा लागेका छन् । छोराछोरीलाई असल बाटो देखाएपछि उनलाई काम गर्न थप समय मिलेको छ । ‘जेठो छोरा दिनेश जागिरे छन्’,उनले भने,‘छोरीहरू पनि आ–आफ्नै लाइनमा लागिसके । घरमा आमा, कान्छो छोरा र बुढाबुढी मात्र छौं ।’ फार्मबाटै कमाएको पैसाले उनले छोरी प्रमिला र कान्छो छोरा राजनलाई सिभिल इन्जिनियर पढाएका छन् ।

छोरी प्रमिला नेपाल सरकारको स्थायी जागिरे बनेर सिँचाइ डिभिजन कार्यालय खोटाङमा कार्यरत छन् । जेठी छोरी सुशीला पोख्रेललाई स्टाफ नर्स पढाएका छन् । उनी हाल अस्ट्रेलियामा छन् । आफूले मेहनत गरेर छोराछोरीलाई राम्रो बाटोमा लगाएपछि उनी खुसी जीवन बिताइरहेका छन् । फार्ममा उनकी जीवन संगीनीले पनि सघाउँछिन् । उनको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । सुरुबाटै फार्ममा काम गर्दै आइरहेको गौमुखी गाउँपालिका रजवारा प्यूठानका दिपक पुनले जानकारी गराए । ‘मासिक १५ हजार रुपैयाँ तलब खान्छु’,उनले भने,‘आफ्नै जिल्लामा रोजगारी पाइएको छ । खुसी छु ।’ अण्डा ढुवानी गर्ने समेत उनले गाडी चलाउँछन् । पोख्रेलले अण्डा बिक्री गरेकै पैसाले पिकअप बोलेरो जिप किनेका हुन् ।

१५ रोपनी क्षेत्रफल जग्गामा फार्म सञ्चालन गरिएको छ । यसमध्ये चार रोपनी जग्गा उनको निजी हो । कुखुराले दैनिक आठ क्विन्टल दाना खान्छन् । दाना उद्योग समेत पोख्रेलले फार्मभित्रै सञ्चालन गरेका छन् । बजारमा ५० रुपैयाँ प्रतिकेजी दाना बिक्री भइरहेको जानकारी गराउँदै उनले आफूले उद्योग चलाएपछि ३५ रुपैयाँमै उत्पादन हुने गरेको बताए । दानाका लागि आवश्यकपर्ने अन्न जिल्ला बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । राजनीतिकमा समेत क्रियाशील पोख्रेलले आफू उत्पादनमा जोडिएपछि मात्र कार्यकर्तालाई भन्न सजिलो हुने अनुभव सुनाए । ‘धेरै नेताले कुरा मात्र गरेको देखेको छु’,पोख्रेल भन्छन्,‘नेताले के बोले होइन, के गरे भन्ने उदाहरण देखाउने बेला आइसक्यो ।’

उत्पादनशील क्षेत्रमा नलाग्दासम्म राज्यले लिएको समृद्धिको सपना पूरा हुन नसक्ने उनको बुझाइ छ । उनी तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य हुन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनको नाम प्रदेश ५ का लागि प्यूठानबाट प्रस्ताव गरिएको थियो । पोख्रेल प्यूठान नगरपालिकाको मेयर पदमा समेत आकांक्षी देखिएका थिए । ‘राजनीति क्षेत्रमा लागेर कसैलाई पक्षपात गर्नु हुँदैन’,उनले भने, ‘सबैलाई समेटेर अघि बढ्नुपर्छ ।’ आफू जुनसुकै क्षेत्रको नेतृत्वमा पुगे पनि मुख्य लक्ष्य आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिनु रहेको उनी बताउँछन् । मनमा लागेका कुरा निर्धक्क राख्न सक्ने स्वभावका पोख्रेललाई धेरैले कडा नेताका रूपमा पनि हेर्ने गर्छन् । व्यावसायिक रूपमा लागेका किसानलाई राज्यले पहिचान गरेर विभिन्न सुविधा दिनुपर्ने उनको माग छ । यसअघि जिल्लास्तरबाट वितरण गरिने किसानका अनुदान जथाभावी वितरण हुने गरेको समेत उनको भनाइ छ ।

१६ हप्तासम्म कुखुराको विशेष हेरचाह गर्नुपर्ने उनले बताए । अण्डाको प्रतिपेटी एक हजार तीन सयदेखि एक हजार चार सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । जिल्लामा दैनिक करिब ३० हजार अण्डाको माग रहेको तथ्यांक छ । करिब करिब जिल्लाकै उत्पादनले धान्नसक्ने अवस्था प्यूठानमा रहेको उनले जानकारी गराए ।

बेलाबेला कुखरामा लाग्ने रोगले समस्यापर्ने उनको दुःखेसो छ । ‘पशु विकास क्षेत्रमा जिल्लामै दक्ष प्राविधिक आवश्यकता छ’ ,उनले भने, ‘जिल्ला पशुसेवा कार्यालय हटेपछि सेवा पाउन सकिएको छैन ।’ प्राविधिक सल्लाह सुझावको अभावमा लाखौंंको लगानी डुब्ने समेत खतरा हुने उनले सुनाए । पोख्रेलको मेहनत र लगनशीलतालाई देखेर गत वर्ष व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले भौतिक पूर्वाधार निर्माणका लागि २४ लाख ३६ हजार रुपैयाँ अनुदान समेत प्रदान ग¥यो । उनुदान र आफ्नो लगानी समेत जोडेर उनले चारवटा अत्याधुनिक खोर निर्माण गरेका छन् ।

ताजा अण्डा पाइने भएपछि धेरैको पहिलो रोजाइ यहाँकोे उत्पादन बन्ने गरेको छ । पोख्रेलले कुखुरापालन व्यवसायलाई नै निरन्तर सञ्चालन गर्ने सोँच बनाएर लागेका छन् । लगानी र मेहनत गर्नसके गाउँघरमै लाखौँ रुपैयाँ कमाउन सकिने उनको अनुभव छ । ‘सामान्य घरखर्च चलाउन किन यूवाहरु विदेश जाँदा होलान ? ’,सुझाव दिँदै उनी भन्छन्,‘कृषि र पशुपालन क्षेत्रमा धेरै सम्भावना छ । लगानी गरेर गाउँघरमै बस्नुपर्छ ।’ कृषि क्षेत्रमा जिल्लामा भित्र्ने बजेट यसअघि जिल्लास्तरबाट विनियोजन हुँदा धेरै किसानको पहुँचमा नपुग्ने उनको भनाइ छ । तर, स्थानीय सरकार स्थापनासँगै गाउँमै किसानको पहुँच बढेको छ ।

स्थानीय तहले व्यावसायिक रूपमा लागेका किसान छनोट गरेर राहत, अनुदान र प्रविधिको क्षेत्रमा हौसला दिन उनले सुझाव दिए । प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरेका पोख्रेलले व्यावसायिक कुखुरापालनबाटै सुखमय जीवन बिताउने अठोट बोकेका छन् । बेलुवा बगरस्थित झिमरुक नदी नजिक उनको फार्म सञ्चालनमा छ । बर्सेनि कटान हुँदै गएको झिमरुक फाँटका कारण नदीको समेत जोखिम रहेकाले तटबन्धनमा ध्यान दिन उनले नगरपालिकालाई आग्रह गरे । अँधुरो तटबन्धनलाई यसवर्ष पूरा गर्न उनले आग्रह गरेका छन् । उनको फार्मसहित दाखाक्वाडीको तल्लोबस्ती जोखिममा छ । करिडोर सडक अन्तर्गत बाँकी रहेको करिब तीन सय मिटरको सडक पूरा गरेमा उनको फार्म सुरक्षित हुने देखिएको छ । ००००००

कमाइको १० प्रतिशत सामाजिक कार्यमा

पोख्रेलले आम्दानीको १० प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने योजना बनाएका छन् । ‘कतिपय ठाउँमा दिन दुःखीका खबर सुनिन्छ’,उनले भने,‘आगलागी, बाढीपहिरोपीडित र गरिब दुःखीलाई सहयोग गर्ने मन छ ।’ यसअघि पनि उनले गाउँमै आगलागी पीडितलाई सयोग गरेका थिए । ‘जति कमाइ हुन्छ यही फार्मलाई अझ विस्तार गर्ने सोच बनाएको छु’,पोख्रेलले भने,‘काम गर्नुपर्छ, असम्भव भन्ने केही छैन ।’ उनीसहित हाल जिल्लाभर सानाठूला गरी अण्डा उत्पादन गर्ने (लेयर्स) कुखुराफार्म १० वटा छन् । बोइलर कुखुरा फार्म गाउँगाउँमा भए पनि लेयर्स कुखरा फर्म थोरैले सञ्चालन गरेका छन् । कुखुरापालन व्यवसायी एकजुट भएर छाता संगठन समेत खोल्ने उनको सोच छ ।

२३ भाद्र २०७५, शनिबार ०६:४२

सम्बन्धित

सबै
तपाइको मत