म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षक

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षकको भूमिकामा देखा पर्ने भएका छन्। उनले बिहीबार राति मेक्सिकोको फुटबल क्लब डोराडस डे सिनालोआसँग सम्झौता गरेका हुन्। डोराडस मेक्सिकोको दोस्रो दर्जाको क्लब हो। ५७ वर्षीय म्याराडोना अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउने टोलीका महत्वपूर्ण सदस्य हुन्।

उनले सन् १९७७ देखि सन् १९९४ सम्म अर्जेन्टिनाका लागि ९१ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। यसैगरी उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन्। उनले सन् २००८ देखि सन् २०१० सम्म अर्जेन्टिनी टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। पछिल्लोपटक उनले संयुक्त अरब इमिरेट्सको क्लब अल फुजाइरहमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए। उक्त क्लबसँग उनको सम्झौता गत अप्रिलमा सकिएको थियो।

मेक्सिकन क्लब डोराडसले बुधबार मात्र प्रशिक्षक फ्रान्सिस्को गामेजलाई पदबाट हटाएको थियो। गामेजलाई हटाएको एक दिनपछि नै डोराडसले म्याराडोनालाई प्रशिक्षकका रूपमा भित्याउने निर्णय सार्वजनिक गरेको हो। ‘स्वागत छ डिएगो, अब क्लबलाई १० नम्बरकै जस्तो बनाऊ’, क्लबले आफ्नो सोसल मिडिया च्यानलमा राखेको संक्षिप्त भिडियो सन्देशमा भनिएको छ। म्याराडोनाले आफू खेलाडीको भूमिकामा हुँदा १० नम्बरको जर्सी लगाउने गर्थे।

म्याराडोनाले अर्जेन्टिनोस जुनियर्स, बोका जुनियर्स, स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली लगायतबाट व्यावसायिक फुटबल खेलेका थिए। देशका लागि सन् १९८६ मा विश्वकप जितेका म्याराडोनाले सन् २०१० को विश्वकपमा भने अर्जेन्टिनी टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

२३ भाद्र २०७५, शनिबार ०६:०६

सम्बन्धित

सबै
तपाइको मत