६६ मिनेटमै सेरेना फाइनलमा

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
छोरीलाई जन्म दिएपछि पहिलो ग्रान्डस्लाम उपाधि चुम्न सेरेना विलियम्स अब एक खेल टाढा छिन् । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेसँगै सेरेना त्यो उपलब्धिनजिक पुगेकी हुन् । अथुर्स रंगशालामा सेरेना सेमिफाइनल खेल केवल ६६ मिनेटमै जित्न सफल भइन् ।

अनास्ताजी सेभास्टोभालाई ६–३ र ६–० को सोझो सेटमा निराश पार्दै सेरेनाले अन्तिम दुई स्थान पक्का गरेकी हुन् । करिअरकै २४औँ ग्रान्डस्लाम जित्ने सँघारमा पुगेकी सेरेनाले घरेलु कोर्टमा समर्थकलाई निराश नपार्ने बताएकी छिन् । सेरेना सातौँ युएस ओपन उपाधिनजिक पुगेकी छिन् ।

मार्गेटको रेकर्ड बराबरी गर्ने अवसर
फाइनलमा जापानिज खेलाडी नाओमी ओसाकामाथि जित निकाल्दा सेरेनाले मार्गेट कोर्टको रेकर्ड बराबरी गर्नेछिन् । टेनिस इतिहासमा मार्गेटले २४ ग्रान्डस्लाम उपाधि जितेकी छिन् । करिअरकै ३१औँ ग्रान्डस्लाम फाइनल खेल्ने तयारी गरेकी सेरेना गत मार्च मात्र सक्रिय टेनिसमा फर्केकी हुन् । ‘यो उमेरमा पनि थप फिट भइरहेकी छु,’ ३६ वर्षीय सेरेनाले भनिन्, ‘युएस ओपनको पहिलो दुई खेल गाह्रो लागेको थियो ।’

सबैलाई खुसी पार्ने प्रयास
अन्तर्राष्ट्रिय खेलकुदमा ३० वर्षमाथि लागेपछि खेलाडीहरू सन्न्यास लिने सोच बनाउँछन् । तर, ३६ वर्षीय सेरेना अझै पनि सक्रिय छिन् । सन्न्यास लिने समयमा फिट रहनुको श्रेय उनी समर्थकलाई दिन्छिन् । ‘समर्थकको विश्वासकै कारण आज म यो उमेरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकिरहेकी छु,’ उनले भनिन्, ‘मेरो प्रयास भनेको समर्थकलाई सधैँ खुसी बनाउने हो ।’

कठिन पहिलो सेट
सेरेनाले युएस ओपनको फाइनल पुग्न ६६ मिनेट लगाए पनि पहिलो सेटमा संघर्ष गर्नुपरेको थियो । एटिपी वरीयताको २०आैँ स्थानमा रहेकी सेभास्टोभाले पहिलो चार गेमसम्म सेरेनालाई चुनौती दिएकी थिइन् । तर, पहिलो सेटको पाँचौँ गेमपछि सेरेनाले सेभास्टोभालाई मौका नै दिइनन् । उनले एकोहोरो रूपमा अंक बटुल्दै गइन् । ‘पहिलो सेटको चार गेमसम्म सेभास्टोभाको खेल उत्कृष्ट लागेको थियो,’ सेरेना भन्छिन्, ‘बिस्तारै मैले उसको कमजोरीको फाइदा उठाएँ ।’

नाओमीको सपना पूरा
उपाधि भिडन्तमा सेरेनाकी प्रतिद्वन्द्वी नाओमीले आफ्नो सपना पूरा भएको बताएकी छिन् । नाओमीले सानैदेखि सेरेनाको खेल हेर्दै टेनिस सिकेकी बताएकी छिन् । अक्सर सेरेनासँग प्रतिस्पर्धा गरेको सपना देखेको नाओमीले बताइन् । ‘मैले सेरेनाको खेल हेर्दै टेनिस सिकेकी हुँ, अक्सर म सेरेनासँग उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेको सपना देख्थेँ,’ सपना पूरा हुन लागेको क्षण सम्झी उत्साहित भएकी नाओमीले भनिन्, ‘सेरेना मेरो टेनिसको स्टार खेलाडी हुन् ।’ नाओमीले सेमिफाइनलमा कायसलाई ६–२ र ६–४ ले पाखा लगाउँदै फाइनलमा सेरेनाविरुद्धको समीकरण तयार पारेकी हुन् ।

२३ भाद्र २०७५, शनिबार ०५:३७

सम्बन्धित

सबै
तपाइको मत