एउटा एक्सरे गर्न चार घण्टा ?

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
चर्चा काठमाडौंको केन्द्रमा रहेको कान्ति बाल अस्पतालको हो । यो अस्पताल त्रिवि शिक्षण अस्पतालको काखैमा छ । राष्ट्रपतिनिवाससँग झन्डै जोडिएको छ । निकै पुरानो अस्पताल हो । नाम हेर्दा यो पक्कै पनि राजा महेन्द्रकै समयको हो भनेर अनुमान गर्न सकिन्छ ।

बालबालिकाको उपचार गर्ने मुलुककै एक मात्र स्थापित अस्पतालमा उपचार पद्धति कति व्यवस्थित छ भन्ने त शीर्षकले नै थाहा भयो होला, जहाँ एउटा एक्सरे गर्ने काम जम्मा ‘चार घन्टा’मै सम्पन्न हुने गरेको छ । यो कसैमाथिको आरोप पनि होइन ।

कहिलेकाहीँ त एकपटक एक्सरे गरेपछि दुई घन्टा मेसिन सेलाउनै लाग्छ र कतिपय समयमा त दुई दिनसम्म नचल्न पनि सक्छ । समृद्धिको यात्रातिर हिँडिरहेको हाम्रो स्वास्थ्य मन्त्रालयलाई गिल्ला गरेको पनि होइन । अस्पतालका निर्देशक डा. गणेश राईकै स्वीकारोक्ति हो यो ।

यो अस्पताल स्थापनाका समयमा त काठमाडौंका सबै सम्भ्रान्त वर्गका बालबालिकाका लागि एउटा मात्र विकल्प थियो । अब अवस्था त्यस्तो रहेन । निजी क्लिनिकमा पनि सेवा लिन सकिने भयो । अब यो अवस्थाको अस्पतालवरपरका गाउँ या सहरका गरिब गल्लीबाट आउने साधारण मानिसका लागि र निम्नमध्यम वर्गका परिवारका लागि मात्र भरोसा गर्ने ठाउँ बन्न पुगेको छ ।

अनि सरकारको ध्यान पनि यस्ता अस्पतालबाट सरेको छ । जसले गर्दा दुई वर्षपहिले मेसिन बिग्रेर यो हालत हुँदा पनि स्वास्थ्य मन्त्रालय र स्वयं अस्पताल प्रशासन यसलाई फेर्नतिर लागेका छैनन् ।

एउटा एक्सरेका लागि चार घन्टा लाइनमा उभ्याउने अस्पतालले कस्तो सेवा देला र व्यथाले च्यापेका शिशु र बालबालिका काखमा राखेर उपचार पर्खी बस्ने अभिभावकको मन कस्तो अवस्थाबाट गुज्रिन्छ भन्ने अनुमान मात्र लगाउँदा पनि कहाली लाग्छ ।

यो हाम्रो सत्ता सञ्चालन कसरी भइरहेको छ, राज्य संयन्त्र र हाम्रा जिम्मेवार संस्था प्राथमिकता निर्धारण गर्न र आवश्यक काम गर्न कत्तिको तत्परतापूर्वक लाग्छन् भन्ने एउटा बिम्ब मात्र हो । काठमाडौंको भित्री सहरमा रहेको एउटा पुरानो अस्पतालको यो अवस्था हुन्छ भने दूरवर्ती इलाकामा रहेका स्वास्थ्य संस्था र त्यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको हारगुहार कसले सुन्ला ?

यस्तो अवस्था अस्पतालदेखि विश्वविद्यालयसम्म, कृषि सेवा केन्द्रदेखि पशुसेवा केन्द्रसम्म, सडकदेखि सञ्चारसम्म, उद्योग विभागदेखि विमानस्थलसम्म हुन पुगेपछि सेवाग्राहीले राज्यप्रति बनाउने दृष्टिकोण अवश्यै सकारात्मक हुन सक्दैन ।

यो केवल कान्ति बाल अस्पतालका हाकिम र स्वास्थ्य मन्त्रालयको समस्या होइन, राज्यको आमप्रवृत्ति बन्दै गएको छ । यसका लागि मन्त्री या प्रधानमन्त्रीसम्मै पुग्नुपर्ने अवस्था आउनु नै लाजमर्दो हो ।

यद्यपि यो त्यो तहसम्म पुग्दा पनि काम बनिहाल्छ भन्ने निश्चित हुँदैन भन्ने हालै साँखु–जोरपाटी सडक ठीक पार्न प्रधानमन्त्री र मन्त्रीले गरेको प्रयासको नतिजा हेरे थाहा हुन्छ ।

यसरी सिंगो राज्य संयन्त्र, जिम्मेवार निकायमा बस्ने मानिसको मनोवृत्ति नकारात्मक, कामचोर, झाराटरुवा, लापर्बाहीपूर्ण र अनुत्तरदायी भएपछि आउने परिणाम मात्र हो यो । यसलाई चिरफार गरेर नफाली हामी कसरी उँभो लागौँला र ?

२३ भाद्र २०७५, शनिबार ०५:०६

सम्बन्धित

सबै
तपाइको मत