गोली प्रहर गरी महोत्तरीको भंगहामा अज्ञात समूहद्वारा १० लाख लुटपाट, घरधनी सहित ५ जना घाइते

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
महोत्तरीको भंगहा नगरपालिका वडा नं. ४ को एक घरमा गोली प्रहार गरि लुटपाट भएको छ । गएराति करिव १२ बजेको समयमा दश जना भन्दा बढी अपरिचित व्यक्तिको समुहले प्रहार गरेको गोली लागेर घरधनी अर्जुन भुजेल घाईते भएका छन् । लुटपाटको हल्ला सुनेपछि प्रतिकारका लागि आएका अर्जुनका आफन्तको मोटरसाइकलमा समेत लुटेरा समुहले बम प्रहार गरेको पीडितको भनाइ छ ।

लुटेरा समुहको गोली प्रहारबाट घरधनी ४५ वर्षीय अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अञ्जुु भुजेल, छोराहरु २५ वर्षीय अमित भुजेल र १८ वर्षीय दिपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाईते भएका छन् । उनीहरुको बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अवेर राती अर्जुनको घरमा लुटपाट गर्न आएका लुटेरा समुहले नगद सहित करिव १० लाख बराबरको गरहगना लुटेका छन् । अर्जुनकी श्रीमती र आमाले कानमा लगाईराखेको सुनको गहना समेत लुछेर लगेको छ । यता प्रहरीले सोहि आरोपमा केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ ।

घटना स्थलबाट रातो कपडामा बेरिएको सुतली बमको टिना तीन थान र गोलीको खोका तीन थान फेला परेको प्रहरीको भनाई छ ।

जमुनिया चोकमा ड्युटीमा खटिएको शसस्त्र र जनपद सहितको टोलीलाई सहयोगको लागि गुहार गर्दा प्रहरी घटना स्थल नआएको स्थानीयको आरोप छ । ‘हामीले पटक- पटक प्रहरीलाई गुहार गर्यौ, तर उनीहरु हतियार नभएको बाध्यता देखाउदै घटनास्थल पुगेनन्’ एक स्थानीयले भने ।

२३ भाद्र २०७५, शनिबार ०४:५८

सम्बन्धित

सबै
तपाइको मत