महिनामारी दिवश मेरो पहिलो महिनावारी -देवी पराजुली

संबाददाता

हुन त बिसौ वर्ष अगाडीको कुरा हो तर ममा बच्चै देखि बिद्रोही स्वभाव थियो। पाप वा धर्म संग खासै सरोकार थिएन। बच्चै देखी आफै निर्णय गर्थे आफ्नो अनुकुलता हेरेर। भगवानले म माथी नै पाप गरेका थिए यसैले उनको लागी धर्म गर्नु पर्ने थिएन मलाई। बस्! बा-आमाको मान राख्न चुप बसि दिन्थे।

म एघार पुगेर बाह्र वर्षमा हिड्दै थिए। साउन महिना रोपाईको माचो थियो घरमा। मेरो काम एक वर्षको भाईलाई हेर्ने र खेतालालाई खाजा पकाउने हुन्थ्यो सधै। त्यस दिन म जवान भएको संकेत देखियो। मेरो पहिलो महिनावारी भयो। भोली पल्ट दुईहल हालेर रोपाई थियो। मलाई आमा र सानो भाईको माया लाग्यो। अनि भगवानको परिक्षण गर्न मन लाग्यो। साझ बा आमा आउदा खाना पकाएर भाई संगै सुतीसकेकी थिए ।मलाई पेट दुखेन बरु रक्तश्राव भैरह्यो। रात भर डर लाग्यो कतै आमाले थाहा पाउनु हुन्छ कि भन्ने। मैले कसैबाट पनि महिनावारी हुदाँ के हुन्छ वा के गर्नु पर्छ भन्ने कहिल्यै सुनेकी थिइन। राती कति बेला निदाएछु थाहै भएन। बिहान म ब्यूझदा बा-आमा खेतमा गैसक्नु भएको थियो मकै बोक्न र रोपाइको लागी खेत खाली गर्न।

मलाई केहि भएको थिएन यसैले खाना पकाए। बा-आमा आएर खाना खाए पछि खेतमा जानु भो। पानी परीरहेकोले आज म खेतमा जानु परेन खेतालालाई खाजा पकाउन। म भाई संगै घर बसे। मलाई अचम्म लागीरहेको थियो आफ्नै शरिर देखेर। साझ बा-आमा आइ पुग्दा भाई र म सुतीसकेका थियौ। दाइहरु घर हुनु हुन्थेन। मलाई रात भर निन्द्रा लागेन अब यो कुरा आमालाई कसरी सुनाउ भन्ने सोचीरहे रातभर। मलाई पापको डर भन्दा पनि रक्तश्राव लुकाउन नजानेर आमाको डर लागीरह्यो रातभर।

बिहानै उठेर भाईलाई हेरे। सानो भाई म बिना भात खान्थेन। म स्कुलबाट फर्कदा आमाले भाईले भात खाएको छैन तिमी पनि खाउ र भाईलाई खुवाइदेउ भन्दै घासकाट्न जानु हुन्थ्यो। भात खान त दिदी चाहिने मेरो भाई संग अब 11दिन टाढा हुनु थियो मलाई। मनमनै आमालाई नबताउने बारे सोचे तर त्यतीनै बेला फेरी रक्त श्राव भयो। म जुरुक्क उठे र चर्पि तिर गए। अब आमालाई कुरेर बसे। आधा घंटा पछि आमा आउनु भो, म बारीको एक छेउमा त्यसै बसीरहेकी थिए। आमाले घर आएर भाईलाई हेर्न अह्राउनु हुदैथ्यो तर मैले मेरो महिनावारी भर्खर भएको भनेर सुनाए। आमा एकाएक मुर्झाउनु भो र रुन पो थाल्नु भो। उहाँलाई म जवान भएकोमा ठुलो पिर थियो। यसै पनि म बाह्र वर्ष सम्म नपुगेकी बच्चि थिए।मनमा नमिठो लाग्यो आमाको आशु देखेर। बेकारमा सुनाएछु एक दुई दिनमा आफै रोकिन्थ्यो होला भने झै लाग्यो। तर मैले आमालाई भनि सके पछि म अशुद्ध भएकि थिए। एघार दिन सम्म पुरानो घरको अध्यारो कोठामा थुनिए म। स्कुल बिदा थियो। गाउँघरमा कामको माचो। कसैले थाहा पाएन म महिनावारी भएको मेरो परिवार बाहेक। एघारौ दिनमा नुहाएर सफा भए पछि म बाहिर निस्के। भाईको खुब न्यास्रो लागेको थियो। उ झम्टिदै मेरो काखमा आयो। पाच छ दिन पछि मेरो रक्तश्राव रोकीएको थियो। मलाई बेकार आमालाई भनेछु भन्ने लागीरह्यो लुकेर बसुन्जेल।

मैले तिन दिन सम्म पहिलो महिनावारी नवार्दा भगवान रिसाए की रिसाएनन् त्यो त थाहा भएन तर मलाई यो घट्नाले आफै प्रति आत्मविश्वासी बनाई रह्यो। महिनावारीमा छोइएको पाप कटाउन ॠषि पंचमीमा दत्तिउन खाने र पंचमी ब्रत बस्ने अहिले सम्म नगरेकी म कहिल्यै भाकल गरेर भगवानलाई घुस खुवाएकी पनि छैन। म हिन्दु भनेर चिनाउदा खुशी लाग्छ तर ढोगी छैन। मलाई मानव धर्म र आदर सस्कार मन पर्छ बस्। उमेर पुगेर जवानीको संकेत छर्दै पहिलो पटक महिनावारी हुने सबै किशोरीहरुलाई बधाई छ। तिमी परिपक्क हुदै आमा बन्न योग्य बन्दैछेउ। आफ्नो स्वास्थ्य र बढ्दो जवानीमा खानपानको विशेष ख्याल गर ल।।

२२ भाद्र २०७५, शुक्रबार ०३:२८

सम्बन्धित

सबै
तपाइको मत